कृष्ण कुसुम
वर्षौं देखि उसैगरि दौडिरहेछन्
टुँडिखेलमा घोडाहरू !
घोडचढि सिपाहीहरू
हातमा लगाम लिएर
दौडाईरहेछन् आ-आफ्नै घोडाहरू
विजयी हुने होडमा
पहिले पहिले
राजा महाराजाहरू सवार हुन्थे
र नजर गर्थे घोडेजात्रा
तर आजभोलि
भैंसी गोठालाहरू
साधारण किसानका छोराहरू
आउँछन् टुँडिखेल र
हौस्याउँछन् खेलाडीहरूलाई
समय र घोडचढि सिपाहीहरू
उस्तै उस्तै रहेछन् आखिर !
घोडचढिहरू आफ्नो लगामले दौडाउँछन् घोडाहरू
र समय आफ्नो लगामले दौडाउँछ समाजलाई
आफ्नो रफ्तारसँगै !
समय र घोडाको
यो दौड हेरेर पनि
म असमर्थ छु निर्क्यौल निकाल्न
समयको रफ्तारमा दौडिरहेछन् घोडा
वा घोडाको रफ्तारमा दौडिरहेछ समय ?