उदाउँदा-उदाउँदै खसेको चम्किलो तारा


उदाउँदा-उदाउँदै खसेको चम्किलो तारा
र भाँचिएका सपनाहरू

नरेश सुनुवार

परिस्थितिको निर्मम मुक्काप्रहारले उछिटि्टएर
भूगोलको पल्लो कुनै एउटा कुनामा
विवशताको साङ्लोमा बाँधिएर
अघोषित कठघरामा उभिएको म
एका बिहानै
अचानक आकाशतिर हेरेँ
धुम्म बादलले ढाकिएर
अस्पतालको शैयामा ढलेको सिकिस्त बिरामीजस्तै
आकाश निष्लोट सुतिरहेको थियो
तेई आकाशमा
कर्कश उराल्दै एक बथान काग र गिद्धहरू
पश्चिम दिशातर्फ उडिरहेका थिए,

छिन् छिन् बिराएर मेरो कान बज्दै थियो
आँखा फुर्फुराउँदै थियो
म झस्केँ झसङ्ग स-सङ्कित भएँ
कतै यो अशुभ सङ्केत होईन ?
नभन्दै, केही घण्टा नबित्दै
फोनको घण्टीसागै एउटा आवाज बजेर
मेरो कानभित्र सुलुत्त छिर्यो
अनि बेजोडले ठोक्कियो मष्तिष्कमा
र, चिर्दैचिर्दै इन्द्रीय, अङ्ग-प्रत्यङ्ग हुँदै
तल भूँइमा पछारियो छरप्रस्ट आँतका सम्वेगहरू
जसरी पहाडी घनजङ्गलमा चट्याङ बर्षदा
ठिङ्गुरेका रूखहरू टुप्पादेखि फेदसम्म चिरिन्छ चिराचिरा
र, लथालिङ्ग हुन्छ सतहभरि
बस, उच्चाण सुनियो फोनमा अशुभ वाक्य
कुलदीपको देहवसान भयो !
हो ! त्यो अपत्यारिलो सत्य थियो,

समय कति क्रुर छ
परिस्थिति कति कठोर छ
जो निर्मम कोर्रा प्रहार गरिरहन्छ प्रतिपल
जहाँ असह्य पिडा दुखिरहेको हुन्छ
बस, प्रारभ्ध यस्तै
विडम्बना यस्तै
सुनेर सुनिनसक्नु
सहेर सहिनसक्नु
एउटा बज्र प्रहार भएको छ
र, ढलेको छ एउटा शरीर
जो कहिल्यै नउठ्ने गरी,

लागेन दिन दिन जस्तो
फिक्का फिक्का देखिए सबै रङ्गीन शहरहरू
आफैलाई विश्वास नलाग्ने आफ्नो शरीरजस्तो
निष्लोट भए इन्द्रीयहरू
मडारियो सुनामी छातीभित्र
र, व्यर्थ छचल्किएर घोप्टियो आँखाबाट छाल
खै के प्रयोजन त्यसको ?
के मूल्य र मान्यता त्यसको ?
आफुलाई गनेर पनि यो परिवारमा
प्रत्येक गन्तिमा एउटा सङ्ख्या घटेको छ
हरेक भान्सामा खाना-खाजा पस्कादा
एउटा भाग घटेको छ
उसको निम्ति जोडिएको थाल डबका
उसकै नाममा ठााडो साबित भएको छ
बस, सशरीर कहिल्यै उपस्थित नहुने गरी
एउटा छोरा, दाइ/भाइ
एउटा माइती/मावली, काका तथा भान्जा भतिज
र, साथीहरूको समूहबाट एउटा असल साथी घटेको छ
यस दुनियााबाट ऊ हटेको छ,

कुल हाम्रो परिवारको
दिप कहिल्यै ननिभ्ने
प्यारो नाम कुशलले पुकारिने
शालीन स्वभाव
कुशल कार्यशैली
त्यो जेहेन्दार कुशल व्यक्तित्व
आदर्श जो त्यो परिवारको
उदाउँदै गरेको सूर्य थियौ
अब तिमी रहेनौ
यस भौतिक दुनियाँमा
मात्र बिजुली चम्केजस्तो
झिमिक्क झिमिक्क ज्योति छरेर बिलायौ
छिप्पिएर झलमल हुन नपाउादै घामका किरणहरू
तिमी अस्तायौ यस ब्रम्हाण्डबाट
जो कहिल्यै नझुल्किने गरी,

एउटा चम्किलो तारा हराएको छ तिम्रो परिवारबाट
आशाको एउटा दियो निभेको छ तिम्रो समाजबाट
एउटा विद्वान वक्तित्व गुमेको छ राष्ट्रबाट
र एउटा मानव घटेको छ यस भूगोलबाट
हो, तिमी अब कहिल्यै नफर्किने शर्तमा
अपत्यारिलो र असहज तवरबाट
बिदा लिएको छौ सदा-सदाको लागि
यस भौतिक दुनियाँबाट,

अवरोधहरू एकपछि अर्को छिचोल्दै
जो पार गरेका थियौ पर्खालहरू
अग्ली सकेका थियौ अग्ला शिखरहरू
खण्डहरजस्तै लहरै उभिएका
तिम्रा ती रहरहरू
चाङ का चाङ थुपरिएका हजारौ सपनाहरू
चकनाचुर भयो क्षणभरमा
च्यातिए दुःखका नायल तम्सुक
मेटिए संघर्षका पाइला
च्यूत भए योजनाका अनगिन्ती प्रोफाइलहरू,
तिमी रहेनौ अब हामी बीच स-शरीर
त्याग्यो सबलाई कलिलै उमेरमा
तिमी इतिहास भैसक्यौ
रहने छौ किताबका पानाहरूमा
खोजिने छौ लेखी छाडेका तिम्रा हरफहरूमा
कविताका पङ्तिहरूमा
लयबद्घ सुमधुर स्वरका गीतहरूमा
र, रहने छौ सदैव हाम्रो न्यानो मुटुहरूमा ।

 


Author - नरेश सुनुवार | Posted on Aug 21 2008 Thursday | Views : 8247
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Kuldeeps books & pen

    Miscellaneous

    Scholarship Program 2068

    Greetings