तृतिय - कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
धर्ती यस्तै सुन्दर हुनेछ
उस्तै नीलो हुनेछ आकाशको रङ
समय रोकिने छैनँ
घुमिरहने छ पृथ्वी सँगसँगै
फरक यति हो
भोर आउने छ रातपछि
मानिसहरूको अघिपछि मानिस नै हुनेछन्
बाँडिने छैनन् मानिसहरू जात र धर्ममा
मानिसहरू बाँड्न थाल्ने छन् आफुले आफैंलाई
मानिसहरू चिन्न थाल्ने छन् आफूले आफैंलाई
बस्तीबस्तीमा ईश्वरको बस्ती हुनेछ
खुसीहरू साटेर भ्याइने छैन,
लुटिने छैनन् चेलीहरू
एकले अर्कोलाई भन्ने छैनन् देशद्रोही
विधिको शासन हुने छ
नदी जस्तै बगेर
निर्वासित हुने छैनन् मनहरू,
युद्घ र आतङ्क सकिएको छ
झोलाभरि अक्षरहरू बोकेर
पाठशाला जाने छन् फूलजस्ता कलिला नानिहरू
घाम उदाइरहेकै हुनेछ
नानीहरूसँगै पढेर सकुशल घर र्फकने छ-देश
भोक लागेका नानीहरू पिर्नेछन् आमालाई
सन्तानहरूको सुखमा आमाको दुःख लुक्ने छ
थामिनसक्नु गरी लाग्ने छ देशको बाडुली
हरेक दिन नबिर्सिने दिनहरू हुने छन्,
रात कालै हुनेछ
तर भयानक हुने छैन
निर्धक्क निदाउँने छ जगत् सन्तोषले
सिमानाहरू मिचिने छैन मानचित्रको
परेवाहरू गस्तीमा हुने छन्,
असि बयासीका हजुरबा हजुरआमाहरू
घरघरमै रोधि जमाउँने छन्
खित्का छुट्ने छ ठिटाठिटीहरूको
आागन जस्तो भए पनि
श्रमले थाकेका गोडाहरू नाँच्ने छन्
कुनै एक साँझ कविता साँझ हुनेछ
ताली बजाउने छन् जूनकीरीहरू
निर्णायक हुने छन् जून र ताराहरू
फरक यत्ति हो
कसैले हार्ने छैनन्
यसकारण-
कसैले जित्ने छैनन् ।