सान्त्वना - कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
यो सहर
पहाडबाट घीउ बेच्न आउने
कान्छी दिदीलाई होच्याउँछ
र आफु फोहोरको डङ्गुरमाथि बसेर
सभ्यताको परिचय दिन्छ
भन्छ पहाड सहरजस्तो सुन्दर छैन
विकसित छैन
सहरसँग
आडम्बर छैन
अभिमान छैन
र प्रत्येक दिन
छलकपटको खेति गर्ने
टुँडिखेल छैन
छ त केवल
पहाडसँग
दशकौ लामो युद्धले
क्षतविक्षत पारेको
विक्षिप्त मुटु छ
पीरले चाउरिएका
निन्याउरा अनुहारहरु छन्
र छन्
रगतले लतपतिएका बेरुप फूलहरु
सहरसँग
एउटा सिंहदबार छ
सिंहदरबारभित्र
पहाडले पोसेका
थुप्रै खसीहरु छन्
पुष्ट अनुहारहरु छन्
र छन्
ओइलिन लागेका
तर मालीले स्याहारेहा फूलहरु
पहाड !
यतिबेला
मलाई सोध्न मन लागेको छ तिमिसँग
के तिमि न्यायमा छौं ?
अन्याय गर्नु भन्दा
अन्याय सहने पापी हुन्छ
पहाड !
अब, तिमि बरफ जम्ने होइन
आगो सल्कनुपर्छ
आफैले पोसेका खसीहरुविरुद्ध
पहाड ! के छैन तिमिसँग
विवेक, विश्वास र स्वाभिमान छ
इमान, आदर्श र नैतिकता छ
यार्सागुम्बा छ
सगरमाथा छ
पहाडको छातीमा टेकेर
सहर विकसित भएको छ
पहाड !
अघि बढाऊ आफ्नो पदचापहरु
हामी पहाडबासीहरु
छातीभित्र विकासको धूमिल चित्र कोर्दै
यात्रा तिमिसँगसँगै हुनेछौ
निरन्तर निरन्तर ।