सपनाहरू सहिद हुँदा
म कविता कोर्दै थिएँ
पचपन्न तले भवनको
कुनै एउटा कोठामा
चियाई रहेथेँ
कविताहरूमा जीवन
खोजीरहेथेँ
जीवनको मूल्यलाई, महत्वलाई
म निर्माण गर्दै थिएँ कुनै आदर्श
बोध गर्दै थिएँ
औचित्य जीवनको
टक्क अडियो कलम
र
सपनाहरू सहिद भए,
सपनाहरू सहिद हुँदा
म मञ्चन गर्दै थिएँ
जीवनको एउटा अवास्तविक नाटक
बुझाउनलाई की
जीवन यस्तो हुन्न
पूर्बनिर्धारित कुनै दृस्य जस्तो हुन्न जीवन
यतिकैमा खस्यो पर्दा
र
सपनाहरू सहिद भए,
सपनाहरू सहिद हुँदा
म खोज्दै थिएँ
पत्रे चट्टानमा जीवन
उत्खनन् गर्दै थिएँ मूल्य मान्यताहरू
भोग्दै थिएँ औसत खुसीहरू
कोर्दै थिएँ चित्र सुन्दर भविष्यको
आशा र बिश्वासको
अनायास तूफान आई
उडायो मेरो क्यानभासलाई
सपनाहरू सहिद भए,
सपनाहरू सहिद हुँदा
म निर्माण गर्दै थिएँ
आश्थाको धरहरा
उठाईरहेथेँ मेरा आवाजहरू
मानव भीडहरूमा
स्खलन भइरहेका बिश्वाशहरूमा
संगीत भर्दै थिएँ सुन्दर गीतमा जीवनको
सरगमभित्र रमाउदै थिएँ
तार टुट्यो अचानक र
सपनाहरू सहिद भए,
सपनाहरू सहिद हुँदा
म लेखिरहेको थिएँ
डायरीका पानाहरूमा आफ्ना अनुभूती
नीयात्रा र पदयात्राका सन्दर्भ
चाहन्थेँ
च्यातिएर नजाउन् यी पानाहरू
नरोकीउन् गन्तब्यहरू
युग बदल्ने बिचार
संसार हाँक्ने मन
खियाउदै गरेको जीवनको डुङ्गा
पल्टाइदियो छालले
र
सपनाहरू सहिद भए,
सपनाहरू सहिद हुँदा
जिकिर गर्दै थिएँ म
सह अस्तित्वको
समन्वय गर्दै थिएँ
द्वन्दहरूको
समीकरण मिलाउदै थिएँ
मत अभिमतको
की
एउटा नजीर तयार होस् जगतमा
मान्छेको सम्बन्धको
सद्भाव अनि विश्वाशको र संवादको
यतिकैमा समय रोकियो
र
सपनाहरू सहिद भए ।