अमृत पौडेल
लगाउनुपर्ने माला, बाँधेर घाँटीमा
दाम्लो बनाउँदैछ घोडा
तबेलामा यतिबेला
छटपटाईरहेको छ घोडा,
चिलाएर आङ खपिनसक्नुको अवस्थामा
चुडाँउन खोज्दैछ आफैले अल्झाएको माला
खोस्रेर आफु उभिएको जमिन
भत्काईरहेको छ घोडा,
तबेलामा छटपटाईरहेको छ घोडा
ऊ यतिबेला पुरानै दरबारमा र्फकन खोज्दैछ
घोडा न हो
के बुझ्थ्यो र ?
यतिबेला दरबारको पर्खाल भत्किएर
देशभर फैलिएको छ देश
देश कुनै बेला
चार पर्खाल भित्र कैद थियो
भत्कियो दरबार अनि देश मुक्त भयो
घोडालाई नयाँ तबेला मन परेन
उ खाज्दैछ अझै त्यही पुरानो दरबार,
उफि्रएर घोडाले,
आफ्नै गर्दन रगताम्य पारेको छ,
खुट्टाले आनै भार थाम्न नसक्ने गरी गलेको छ
वर्षौपछि पिँजडाबाट निकालिएको
सुगा जस्तै भएको छ घोडा
उफ्री उफ्री ऊ पिँजडा खोज्दै छ
बिचरो घोडा !
उफ्रदा उफ्रदै आफु उभिएको जमिन भासिएर
कहिले नउठ्ने गरी लड्नसक्छ
या त छाडेर तबेला भाग्नसक्छ
गुमाउन सक्छ आफुले पाएको सानो जमिनपनि,
तर पनि होसियार !
घोडा फुत्किर बहुलाउन सक्छ
आङ चिलाएर उफ्रदै
हामी उभिएको जमिन पनि खुद्ग सक्छ,
तबेलामा यतिबेला
छटपटाईरहेको छ
आङ चिलाएको घोडा ।
इटहरी, ४ सुनसरी
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ को प्रतियोगी कविता)