बलिराज खम्बू
उसले भन्यो - छिः तेरो अलच्छिनको अनुहार
तैँले - मिरमिर भालेको डाक नखस्दै
ती भञ्ज्याङहरू काटेर जानु
ती जङ्घार अनि फड्केहरू तरेरजानु
सदा-सदाको लागि तैँले टाँढै बस्नु
नआउनु तेरो जङ्गली अनुहार
अनि चिराइटो स्वभाव लिएर
मेरो संमुख
कसैको संमुख ।
धुमिलिन्दै गइरहेको साँझ
रेशा रेशा हुँदै पर्न लागेको झरी
चिरा चिरा हुँदै बहन लागेको आँधी-हुरी
यदि तपाईले नियालेर हेर्नु भयो भने
देख्नु हुनेछ मेरो अनुहारमा
नदिको वेग झैं लक्ष्य खोजिरहेको
सामुन्द्रिक छाल झैं स्वतन्त्रताको लागि लडिरहेको
तालुकदार साब !
किन हो तपाईको अनुहार त
यो समाजलाई किनकिन झंककै लाग्न थालेको छ
किन हो तपाईको स्वभाव त
यो समाजलाई बूलू झै लाग्न थालेको छ
किन हो.......किन.......
यो समाज
यो भूमी
यो अनुहार
सबै सबै तपाईको विपक्षमा उभिन्न थालेको छ ।
तालुकदार साब !
खुद तपाईकै विपक्षमा उभिन्न थालेको छ ।
नोट :-
चिराइटो :- लेखमा पाइने जडिबुटि ।
किन्किन् :- किरात राई बान्तावाहरूको बीच सामान्ती भूत ।
बूलू :- लेखमा पाइने एक बिषालु वनस्पति ।
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ को प्रतियोगी कविता)