भोगेन्द्र लिङदेन
म सानै छँदा
एकदिन मेरो घरमा पण्डित आयो
पूजा गर्यो
श्लोक गायो
जल चढाँउन लगायो
पवित्र भन्दै गहुँत खुवायो
मलाई नै कुशले बाँध्यो
र दान लिएर गयो
(मलाई कहीँको बाकी नराखेर गयो)
पण्डित त गयो
ऊसँग मेरो नाम गएछ
मेरो जात
मेरो धर्म
मेरो विचार
मेरो चिन्तन
सबैसबै ऊसँगै गएछ
मेरो यो माटो
म यहाँको भूमि पुत्र
म यहाँको आदिवासी
सगर्व बाँच्ने म
मेरो त पहिचान नै गएछ ।
अचेल म एकान्तमा पनि
पटकपटक रुन थालेको छु
रिसाउन थालेको छु
आन्दोलित हुन थालेको छु आफैसँग
ऊसँग र यो राज्यसँग ।
मेरै तङसिङले म बाँच्न सक्थेँ
मेरै माङगेन्नाले म बाँच्न सक्थेँ
उसको श्लोकको सट्टा
मेरै मुन्धुमले ग्रहदशा रोक्थे
तमोरको पानी पिएरै म पवित्र हुन सक्थे
किन दिइएन मलाई मेरो आस्थामा बाँच्न ?
किन दिइएन मलाई मेरो मुन्धुममा रमाउन ?
अब कसले भर्पाइ गर्छ मेरो संस्कृतिको ?
छ कोहि ?
जसले मेरो विरासत फिर्ता गरोस्
जसले मेरो पहिचानको मूल्य चुकाओस् ।
झापा
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ को प्रतियोगी कविता)