माधव घिमिर अटल
ख्वामित, कोशीले भाग्य पखालेर
ललाट उजाडिएकी म लालमती
सुडौल देह निकासी गरेर
एड्स पैढारी गर्ने एक अभागिनी
अझ भनौं भूमीहीन् आतेकी अर्धाङ्गीनि
जसले जूनीभर मालिकको हलिया बन्दै
जोत्यो मालिकको मौजाहरू
र समर्पित भई रोप्यो रगत र पसिना
अनि फलायो सुधन्धित जिरामसिना
तर उसका लागि भने भयो यो
फगत हिही गर्ने मामाको घोडा ।।
ख्वामित, टाक्सिएको शरीर
उभ्याउने उपक्रममा
अस्मिता उटाउँदा उटाँउदै
पटक पटक झरिरहे ख्वामित
पटक पटक मरिरहेँ
अनि कसरी निस्कोस, ख्वामित
मेरो नौनी झैं नरम बोली ।।
ऊ त्यो साततले देवलको
गजु्रलाई सोधे हुन्छ, ख्वामित
त्यसका चौकोसमा जमेका
पसिनाका बुँद बुँद बारे
सुजेरोसँग बुझे हुन्छ, ख्वामित
मालिकका मयलपोश
र सल्सलाउँदा सुरुवाल बारे
अनि तिनमा भरिएका बुट्टा र बान्की बारे
मेरै पल्लाघरे छत्रमान
अझै पनि अस्थायी छाउनीमा
बिकराल वर्तमान र अनिश्चित भविष्य बोकेर
दर्दनाक मृत्यु बाँचिरहेछ
उता अरब हुर्रिएको हर्कमान
त्यतै रोप्दैछ आफ्नो मिहिन
र कल्कलाउँदो जवानी
फगत पिना लिएर तेल दिँदै
उसो त मलेसिया बत्तिएको मंगलमान
नुनको निम्ति साट्दैछ खुन
काख भर्ने एउटा पिप्लिउँदो पिलसो पनि
चेतनाको आगो दन्काउने अभियानमा
आजादिका खातिर आहुती भयो
अनि कसरी जीऊ ख्वामित ?
धोबिले पालेको कुकुर झैं
लाग्छ परिवर्तनका हरेक मोडका हत्याराहरू
बन्दैछन् मयुर रुपधारी कौवाहरू
र बन्दैछन् भाले हिजोका भस्मासुरहरू
ख्वामित, अन्यौलग्रस्त यो नेपाली धर्तिमा
समाजवादको गुनिलो फल फलाउँन
खै, त समताको विज रोपेको
के यहि तन्त्रमा
फल्लान त आइतेका सपनाहरू ?
अनि लटरम्म फल्लान् त, ख्वामित
उम्दा उन्नति र समृद्घ
सिंगै क्युँझला त विदिर्ण वर्तमान
अनि उम्रिएला त, ख्वामित
लालमतीहरूका ललाटका भाग्य ?
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)