विषम कोलाहल बिछ्याइएको भीडमा
म आँखाभरि
असमायिक दुर्घटना बोकेर
निःशस्त्र उभिएको हुन्छु :
सन्त्रासयुक्त सडक च्यात्न
धारे हात उजाउँछ
क्रमशः म मुठ्ठी कस्छु
युद्घ चर्किदो छ,
\\\'नजानू\\\' भन्थ्यौ तिमीले
बालबच्चाको माया मारेर
म कसरी हेरिरहन सक्छु
भोलि सन्तानले
पृथ्वीको लाश काखमा च्यापेर
जलिरहेका स्वर्गबाट अमृतको आशा थापून्
म त धर्तीमा फलेको मान्छे.
मेरो जम्मै माया
यसको अजम्बरी खुसीको लागि हो
तर हाम्रै बच्चाले टेकेको
कलिलो भूई कोतेरेर
दुर्वाशा \\\'लौह मुसल\\\' रोप्न खोज्दैछ
म धावाका साथ खबरदारी बोल्छु
प्रिया: आगोमा जल्दिना अब
म युद्घरत छु
सुन्छौ ? सुन
यहाँ त, गान्धार शैलीका
द्रोण सुतहरू
हिंसा, आतङ्कहरू र स्वार्थको ज्वालामुखी
लिएर भूमिगत हिँडिरहेछन्
म देख्छु
प्रत्येक मस्जिद र गिर्जाघरबाट
उडेको कालो गिद्घ चढेर
अङ्गुलीमाल मृत्युको साइरन फुक्छ
म आस्थाको अँगालो थाप्छु
त्यसैले सहज छैन युद्घ
र सहज हुन्न पनि
ढुङ्गामाथि प्रेम रोप्न
काँडामा सहिष्णु गाँस्न
तै म होसियार छु
तिमीले पठाइदिएको
एक अन्जुली अर्जुन पाएँ
म विरोधको दुन्दुभि कैल्यै
म युद्घरत छु ।
कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६६ मा द्वीतिय पुरस्कृत कविता