गुनासो


बाबु त्रिपाठी

मैले यही देशको नुन खाएको छु

मैले यही देशको राष्ट्रियगान गाएको छु

मसँग छ यही देशको नागरिकता

तर मलाई भनिएको छ - अनागरिक

आज वषौंपछि गुनासो पोख्दैछु

मलाई बोल्न दे देश,

 

देश यदी देशमा

देशबिनाको मानिस हुन्छ भने ठीकै छ

मानिसबिनाको देश हुन्छ भने ठीकै छ

होइन भने देश छुट्टयाइ दे

म यो देशको नागरिक हो कि अनागरिक ?

 

म कसैलाई आफ्नो भन्न सक्दिन

मदेखि टाडा छन्

   -   मन्दिरहरू

   -   मस्जिदहरू

   -   गुम्बाहरू,

 

म ठूलो आपतमा छु देश

केवल मानिस हुनुमात्र होइन मेरो सम्पूर्णता

छुट्टयाइ दे देश

   - मेरो जात कुन हो ?

   - मेरो धर्म कुन हो ?

   - मेरो रगतको रङ्ग कुन हो ?

   - मेरो देश कुन हो ?

 

देश - तेरो सामुन्ने

म देशभित्र देशहीन भएर बाँच्न चाहन्न

,रुदैँरुदैँ तँलाई छोडेर जान चाहन्न प्रवासतिर,

 

म गीता, कुरान, बाइबल छोएर

कुनै किरिया खाँदिन देश

मैले छोएको छु माटो

म माटो छोएर भन्छु

मसँग अर्को कुनै नाम  छैन

मसँग अर्को कुनै नागरिकता छैन

मसँग अर्को कुनै देश छैन ।

 

कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६६ मा प्रथम पुरस्कृत कविता


Author - बाबु त्रिपाठी | Posted on Feb 10 2010 Wednesday | Views : 5223
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KMTC General Assembly

    Kul-dresess and others

    Poem Competition 2066

    Flowers