फोनको घण्टी बज्छ । उठाउछु । हेलो,,,,


फोनको घण्टी बज्छ । उठाउछु । हेलो......

हेला दाइ नमस्कार म कुलदीप, दाइ हिजो अफिसको कामले गर्दा आउन भ्याइन अहिले पनि फिल्डबाटै बोल्दैछु, दाई हाम्रो कार्यक्रम आउदो शनिबार राख्दा कसो होला ? म जसरी भए पनि शनिबार चाहि टाइम निकाल्छु । अन्य भलाकुसारी ।

२०६४ साल मंसिर २९ गते अपराहृन ४-५ बजेतिरको फोनवार्ता भाइ कुशल अर्थात् कुलदीप सुनुवारसँग । मेरो साहित्य सिर्जना, कला सिर्जना सम्बन्धमा संभवत ब्चत ीष्तभचबतगचभ ७ ब्तष्त शीर्षकमा अंग्रेजीमा एउटा लेख प्रकाशोन्मुख कृतिहरूका तयारी आवरण, बाँसका जरा र भिमसेनपातीका जराहरूबाट निर्मित केही काठका कलाहरूका साथै उत्तम कातीच भाईसँग मिलेर संयुक्त रूपमा कोरिएका चित्रकलाहरूको फोटो खिचेर राख्ने विचारले अघिल्लो शनिबार नभ्याउदा दोस्रो शनिबारको समय टुङ्गो गरेका थिए ।

२०६४ मंसिर २६ गते विहान ९:३० बजेतिर फोन चिच्याउँछ र उठाउछु । हेलो काँईला एउटा खबर सुन्यौ  ?  हैन फोतीको कुलदीप त बित्यो रे नि ! रणवीर काकाको फोनले स्तब्ध हुन्छु, पत्यारै लाग्दैन । दोहोर्र्यार सोध्छु जवाफ उही नै रहन्छ । एकिन नै हुँदैन र भाइ झपट र बैनी कौशिलालाई फोन गर्छु,  वास्तविक यथार्थ त्यही नै थियो । स्तब्ध नै रहन्छु शनिबार भेट्ने टुङ्गो गर्ने मान्छेको बुधबार नै आकस्मात जीवन लीला समाप्त भएको खबरले । अघिल्लो राती कोर्दै छाडेको अधुरो गजलले स्वरूप फेर्दै पूर्णता पाउँछ ।  

खाउलाउ भन्ने भरभराउदो उमेर मै नभोग्दै बैंश कतै भाँचिएको छ जीवन । भर्खरै अंग्रेजी माध्यममा स्नातकोत्तर गर्ने मुलिचा परिवारको पहिलो कुलदीप । संगीत साहित्यमा विशेष रुचि राख्ने मात्र नभै साहित्य पारखमा कुशल । भर्खरै UN अन्तरगत उच्च वेतन आर्जन गर्न थालेको किरात कोँइच पठ्ठो । कसलाई थाहा थियो र ?  यसरी आफ्नो जन्मदिन मनाएको एक महिना नबित्दै वृद्ध आमाबाबुको आँखामा अविरल अश्रुधारा बनेर चीर निद्रामा निदाउँछ भनेर के थाहा ? पारिवारिक दायित्व आफ्ना तीनजना दाजुहरूलाई सुम्पेर आफू कुमार अवस्थामै आफ्नो भौतिक शरीर त्यागेर अल्पिन्छ भनेर ।

थाहा छैन उसको न्वारनमा बाहुनचरीले जेजस्तो नाम जुराए पनि मैले जानेको नाम कुलदीप र परिवारका सदस्यहरूले प्यारो गरेर बोलाइने नाम कुशल । एउटा अन्तरंग संयोग व्यक्तित्व सानदर्भिक नाम भनौ वा नाम सान्दर्भिक व्यक्तित्व । सान्दर्भिक यस अर्थमा कि उनी साहित्य परखमा कुशल थिए । सुरु सुरुमा सुनुवार सेवा समाजको माध्यम भेटघाट भइरहँदा हाम्रो अत्याधिक साहित्य सम्बन्धी नै कुरोकन्थो हुन्थ्यो । र त्यो मात्र नभएर प्रवाशबाटै भए पनि साहित्यमा कलम चलाइ रहने साहित्यकार नरेश सुनुवारका कान्छा भाइ थिए उनी । यसैले मसँगको भेटमा कुराको थालनी नै साहित्य सम्बन्धीबाट हुन्थ्यो उनको । साहित्यप्रतिको लगावले नै कुलदीप भाइलाई साहित्य परखमा कुशल बनाएको थियो । कुशल नाम यस अर्थमा सान्दर्भिक । भाइ कुशल विश्व साहित्यकै ज्ञान राख्ने गर्थे । पश्चिमीदेखि पूर्वीय साहित्य तथा साहित्यकारहरूको विशेष जानकारीको भण्डार थियो । उनको मस्तिष्कमा । नेपाली साहित्यतर्फ लीलालेखनदेखि उत्तरआधुनिकसम्म तथा लोकलहरीदेखि छायाबादसम्मका कुरा अर्थाउन सक्थे उनी । मेरो अन्दाजमा भाई कुशल साहित्य लेखनभन्दा साहित्य अध्ययनमा बढी समय खर्चन्थे, शायद यही कारण हुनुपर्छ यस्तो साहित्यिक चिन्तन राख्ने युवकको लेख रचनाहरू मैले कमै मात्र पढ्न पाँए ।

सृजनशील अराजकतावादी साहित्य लेखनका हिमायत भाई कुशलसँग उत्तर भाइ र मैले थालेको आवर्तन परावर्तनवादी पोकोको पनि गाँठो खोलेर देखाउने प्रयास गरे नेपाली साहित्यभित्रका गु्रपीजम सम्बन्धमा मन्दमुस्कानमा निधार खुम्चाउदै गहकिलो पारामा उनले भनेका थिए खै दाइ तेस्रो आयमेलीहरू पछिका तपाई साहित्यका विभिन्न वादीहरूका मादलमा खरी प्रायः एउटै एउटै जस्तो देख्छु केवल मादलको तालमात्र त फरक छ यस्तो चोइटोहरूलाई के वाद भन्न र फप्लेटो भए पो ? मैले उनले लाएको अर्थको औचित्यलाई नै जोड दिदै भनेको थिए, हो भाइ सत्प्रतिशत हो कि साहित्य मादल हो भने भाषा खरी हो र यी दुवैको संयोगबाट गुञ्जने तालहरू नै वादहरू हुन् र तालमा जति जति विविधता आउँछ साहित्य पनि उत्ति नै सम्पन्न र शसक्त बन्दै जान्छ । साहित्यको प्रयोगमा विविधता आउनु भनेको साहित्य दुबोसरी मौलाउनु हो । रहृ्यो कुरो चोइटो र फप्लेटोको, फप्लेटो केवल अगुल्टो बनेर आगोको माउ भएर अगेनाकै खरानीभित्र रहन्छ भने चोइटो र कप्टेरोहरू फरक फरक बलेर उज्यालो दिएरै आफू खरानी बन्छन्, यसैले विषय वा प्रसंगले अर्को अर्थ नलागे नेपाली साहित्यरूपी मादलमा तेस्रो आयमेलीहरूको तृताल बजाए, सृजनशील अराजकहरू झप्ताल ठोक्दैछन् अझ रंगवादीहरू रमाई घुमाई चुड्के रन्काउदैछन् भने हामी आवर्तन परावर्तनवादीहरू समलाको नयाँ धिन्धिन् ताङ् नाका धिन् ताङ भाका फेर्न खोज्दैछौं । यो सुनेर पेट मिचिमिचि हाँस्दै विट मारेका थिए उनले साहित्यकारमा पनि वकिल तपाईसँग कुरोमा के जितिन्थ्यो र दाइ ? यसो भन्दाको उनको प्रफुल्ल अनुहारको आज झलझली झझल्को झल्कन्छ । यस अर्थमा मैले उनलाई साहित्य पारखमा कुशल नामको सान्दर्भिकता उजागर गरेको हुँ । साथै अर्को पाटो, ओखलढुङ्गा जिल्लाको खिचीकाती जस्तो भीरपहरा अर्थात् पैरोकै थाप्लोमा २०३५ साल मंसिर २५ गते जन्मेको पिछडिएका जनजाति किरात कोँइच परिवारको कान्छो धिप्री (चिराग) चुथ्रो र घंगारुबुट्टा फाडेर ऐसेलु काडामा नअल्झी राजधानीमा आएर उच्च शिक्षा प्राप्ति मात्र हैन युएन जस्तो संस्थाद्वारा समेत पत्याइनु यस अर्थमा उनी कुलदीप अथवा कूलको धिप्री दैवलाई पनि यस्तै तिक्ष्ण बुद्धी एवं मेहनती युवाहरूकै किन खाँचो परेको होला ? अंग्रेजी माध्यममा स्नातकोत्तरको सोधपत्र तयारीमा जुटेको बेला एकपल्ट कुलदीप भाइ मेरो घरमा आधा दिन र पुरै एकरात बिताएको प्रसंग पनि यो स्मृति लेखमा जोड्न सान्दर्भिक ठान्छु । सुरुमा उनले वीपी कोइरालाद्वारा लिखित सुम्निमा कृतिलाई आफ्नो शोधपत्रको विषय बनाउने अठोट लिएका रहेछन् यसरी सन्दर्भग्रन्थको अभावको अवस्था भए पनि शोधपत्र तयार पार्ने उनको अठोटलाई शोधपत्र लेखनका मार्गदर्शकले जनजातीय दृष्टिकोणबाट तयार पारिन लागिएको उनको शोधपत्रप्रति खतराको संकेत देखाएपश्चात हतोत्साही हुँदै शोधको विषय परिवर्तन गर्ने सम्बन्धमा सरसल्लाह सुझाव माग्ने उनको सोँच रहेछ । खाना खाएपश्चात लगभग आधारातसम्म नै साहित्यिक गफमै गफियौ र गफिने क्रममा बेलामौका मैले आफ्नो नयाँ रचनाहरू पनि सुनाउदै गए-

भोग्नुको अर्थमा भोग्दैछु यो जिन्दगी
एउटा पाटो छोप्न अर्को पाटो तानी
चारैतिर विष्मत मात्रे हर्ष देख्दिन म
उमंगबोकी भित्रिएको वर्ष देख्दिन म
छामेर मेरा कुमारी सम्वेदनशील अंग
तातो निस्वासमा बनायौ मदान्ध
बाक्लो बर्ष एकान्त ठाउँ तप्त दुई शरीर

पहरा म लहरा उनी सल्क्यौं सँगसँगै जस्ता मेरो प्रकाशोमुख गजल संग्रह अस्पष्ट आकृति का यी शेरहरू पक्डदै उनको टट्कारो भनाइ थियो- दाईको गजल तथा कविताहरूमा पीडा पक्ष र यौन पक्ष निकै सशक्त र घतलाग्दा छन् जुन शब्दहरू मैले आज उनकै स्मृति लेखनको शीर्षक बनाउन उपयुक्त ठाँने । यो मात्र हैन उनको सुझावहरू पनि यसै लेखमा लिपिबद्ध गर्न सान्दर्भिक ठान्छु । उनको अवधारणामा पनि जटिल शब्दको प्रयोगले रचनाको लोकपि्रयतामा कमी आउछ भन्ने एउटा थियो भने अर्को यौन जीवनकै अभिन्न र आवश्यक वस्तु हो तर यसमा पर्दा हुन आवश्यक छ । कुनै पनि मानिसको युवा अवस्थामा कुनै पनि लिङ्गले विपरीत लिङ्गको यौनाङ्ग, यस्तै हुन्छ भनेर सहजै कल्पना गर्न सक्छ र त्यो यौनाङ्गको आकर्षण भनेको पहिरन भित्र रहादा सम्मको हो नाङ्गिएको अवस्थामा आकर्षणको ठाउ घृणा र वितृष्णाले लिन्छ । कुलदीप भाइको यो घुमाउरो पाराको समालोचना भित्रको आलोचनाले उनलाई प्रश्न तेर्छाउन बाध्य नै बनायो, के मेरा रचनाहरू त्यस्तो नाङ्गो र अश्लिलहरु मैले वाक्य पूरा गर्न अगावै अलि चतुर्याइपूर्वक भनेका थिए हैन हैन मैले त्यो भन्न खोजेकै हैन मैले त समग्र साहित्यकै अर्थमा त्यो औल्याएको सम्म हु । अँ जहा सम्म दाईको रचनाको सम्बन्धमा छ मैले नढाँटी भन्नुपर्दा अश्लिल नाङ्गो त छैनन् तर पनि आजकलका अर्धनग्न युवतीहरूझै लोभ लाग्दा भने अवश्यै छन् । हामी दुवैको अट्टाहास हाँसो गुञ्जन्छ जुन हाँसोप्रति सँगैको कोठामा सुतेकी मेरी बुढी फुपु कान्छी मस्त निद्राबाट ब्यूझेर हाम्रो हासोप्रति रोष प्रकट गरेको घटना र हाम्रो त्यो अट्टाहास हासो मेरा मानसपटमा ताजै छन् र ताजै ररिरहने छ कुलदीप भाइको भरभराउदो उमेरको उज्याला मुहार ।

उनको अवसानले नेपाली साहित्यले भविष्यको एक खरो र झर्रो न्तिक गुमाएझै लाग्छ र लाग्छ म स्वयंले मेरो एउटा असल पाठक, हितैषी प्रशंसक र कुशल सचेतक गुमाउको छु । सृजनशील साहित्य  नामक साहित्यिक पत्रिकाका माध्यम निकट सम्पर्कमा रहनु भएका भाई कुलदीपले अन्ततः एउटा कुरा भने झुट्टा बोलेरै गए शनिबार मसाग भेट्ने वाचा बाँधेर बुधवार नै चटक्क कसैलाई सुईकोसम्म नदिई यो संसार नै चटक्क छाडेर गए यसैले उनको स्मृतिमा माथि उल्लेखित अधुरो गजलको पूणर्म्स उनैलाई समर्पण गर्दै दिवाङ्गत आत्माको चिर शान्तिको कामना गर्छु

समर्पण

गाँसेर पो कस्ले गाँसिएका छ जीवन
साँचेर नै कस्ले साँचिएको छ जीवन
फारो गर्दा नि उमेर खर्चिलो बनेर
क्षणभंगुर भएर मासिएको छ जीवन
हरप्रयास गरेर जोगाउदा जोगाउदै
सम्वेदनशील बनेर नासिएको छ जीवन
खाउँ लाउँ भन्ने भरभराउदो उमेरमै
नभोग्दै बैंश कतै भाँचिएको छ जीवन
स्मृति बनेर विहृवल आँखा अगाडि
भित्तामा तस्वीर भै टाँसिएको छ जीवन ।

 


Author - Atit mukhiya | Posted on Aug 13 2008 Wednesday | Views : 8574
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Village Photos

    Poem Competition 2066

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Miscellaneous