अशेष मिलन
ऊ आकाशलाई आकाश भन्छ
म मान्छु यी सब
उसको सुर्जे त्यही उदाँउछ
र थोरै न्यानो दिएर जान्छ,
म पाताललाई आकाश भन्छु
मेरो सुर्जे
सधै त्यही उदाउँछ
र थोरै न्यानो मबाट मागेर जान्छ
ऊ मान्दैन यी सब
ऊ देख्छ सँधै
सुर्जे आकाशमै हुन्छ,
उ आँखालाई सत्य मान्छ
म अन्धालाई सत्य भन्छु
साँच्चै आँखाले देख्छ
अन्धाले भोग्छ
त्यसैले भ्रम खादैन अन्धाले
आँखाले जस्तो ।
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ को प्रतियोगी कविता)