मिलन बगाले, तनहुँ
पानीको रङ्ग
उस्तै उस्तै हो,
वर्षामा अलिकति फेरियो होला,
वधुवा मजदुर र बेचिएकाहरूको
दुःख पीडा उस्तै उस्तै हो
तैपनि
भिरपाखामा बजारिनेको के भाउँ ?
फाँटैफाँट पसारिनेको
थोपा थोपालाई
पैसामा जोखेर हेरियो होला,
अनि
अनायसै हुत्तिएको
तिम्रो जोडतोडको भेल र
मेरो निरन्तरको भलमा पनि
खासै ठूलो फरक देख्दिन,
न त
वगरभरि पसारिएका
असरल्ल माछाजस्ता मान्छेहरू
र दाम्लाकिलामा ठोकिएका
रित्ता भोका पेटहरूमा !
पानी भएर पोखिएको
तिम्रो उच्याटलाग्दो भेलले
माटो मात्र होइन,
ढुंगो पनि भित्रैसम्म भिज्यो ।
आसुँ भएर पोखिएको,
मेरो बिना गर्जनको भलले
ढुंगा माटाका कुरै छाडौं,
आफ्नो परेला आफैलाई बिझ्यौ !