हजारौँ वर्ष देखि खोसिएको
यो परिचय
यो अस्तित्व
र त्यो गुफा
हजारौँ वर्षपछि आज बौरिएको छ, एउटा इतिहास
बजाउँदै ढोल झ्याम्टाहरू, डम्फू टुङ्नाहरू यस्तै यस्तै........
यो परिचय जसले अरुको परिचयलाई थामेको छ
यो अनुहार जो कैयौं पटक अपहेलित भएको छ
यो गुफा जसले जंगलि झुपडिको पिडा सहेको छ
हो,
त्यहि, परिचयले समान्ताको ज्ञान सिकाउँथ्यो
त्यहि अनुहारलाई त्यो माटोको माया लगाउँथ्यो
त्यहि गुफाले हाम्रो पूर्खा जन्मायो
जहाँबाट आँगन झैं तराई भेटिन्थ्यो
धुरि कै हिमाल देखिन्थ्यो
र
धडकन्थ्यो बनेर मुटु निरन्तर निरन्तर,
लाग्छ
मेरो अस्तित्व,
मेरो भाषामा छ,
मेरो यो पहिरनमा छ
मेरो यो अनुहारमा छ
कैयौं बहानामा, कैयौं भरोसामा
खोसियो त्यो परिचय, त्यो मुटु
अनि सिकाइयो सदियौं देखि एउटै केन्द्रिरकृत गणितीय फरमूला
र धोकायो कुनै एउटा धर्मग्रन्थ
अनि बाँधिनु पर्यो ठुलो जन्जिरले सानो किलामा
र छाड्नु पर्यो मैले मेरै लगापूर्गिलाई मेरै षादर सिलिमा
यस्तै यस्तै..पिडा पाएको छु
मैले मेरो \'म\' गुमाउँदा
धेरै पटक बनिसकेको छु मुखदर्शक,
मेरै अगाडि मेरो पूर्खालाई पर सारिँदा
कैयौं पटक बनिसकेको छु मूर्ती पार्कहरूमा,
मेरै सामु .......... र सुम्निमालाई निर्वस्त्र पारिँदा
हो,
त्यहि पिडा र दुःखले दन्काएर आगो
चेतनाहरू किनारबाट उम्लिएर,
हिमालबाट पग्लिएर सन्तुलित
पहाडका कुना कन्दरासम्म
बिचार उभिएको छ शरिर
र अडिएको छ यो भूतल,
आएको छ आज त्यो जिजीविषा हाम्रो झुप्रोमा
त्यसैमा लामबद्घ फूलहरूको माहौल बोकेर
न कुनै आन्दोलित भीड हो यो
न कुनै खेल नै
गर्दै खबरदारी
आफ्नै गुफाका लागि, आफ्नै भाषाका लागि
सिउँदै सिउँदै
छरिएका फूलहरू एउटै धागोमा
बनेर माला एउटै, यो बाटोबाट
भएर सियो यो माटोबाट ।
कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६६ मा सान्त्वना पुरस्कृत कविता